काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आजै गरिने भएको छ।
कांग्रेस निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा गर्ने तयारी गरिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने उनले बताए।
बिहानदेखि जारी मतदान सुरुमा दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो। तर, निर्धारित समयमा मतदान सम्पन्न हुन नसकेपछि समय थप गरी साँझ ५ बजेसम्म पुर्याइएको थियो। थपिएको समयमा पनि मतदान नसकिएपछि मतदानको समय साँझ ७ बजेसम्मका लागि बढाइएको छ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। मतदान सम्पन्न भएपछि दुवै उम्मेदवारको मतपरिणामका लागि मतगणना सुरु गरिनेछ।