केटीएम दैनिक संवाददाता (काठमाडौं)
कांग्रेसको जारी १५ औँ महाधिवेशनमा उम्मेदवारीसँगै निर्वाचन आचारसंहिता उलंघन गरिएको थियो । कांग्रेस महाधिवेशन निर्वाचन समितिले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले पर्चा, पम्पलेट बाँड्न नमिल्ने भनेको थियो ।
तर, उम्मेदवारी दर्ता भएकै दिन मंगलबार महाधिवेशनमा उम्मेदवारी मनोनयनस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा व्यापक पर्चा र पम्पलेट छरिए । उम्मेदवारी फिर्ता लिने अन्तिम नामावली सार्वजनिक हुने दिन बुधबार त भृकुटीमण्डप क्षेत्रको सडकमा कांग्रेस उम्मेदवारका प्रचार सामग्रीका पर्चा र पम्पलेटले सेताम्मे भएका थिए ।
निर्वाचन आचारसंहिता विपरीत पर्चा, पम्पलेट छरेर महाधिवेशनस्थल फोहोर बनाएपछि कांग्रेस महामन्त्रीका युवा उम्मेदवार डा. सन्तोष उपाध्यायले बुधबार साँझ १० बजेतिर राष्ट्रिय सभागृह अगाडिको सडक सफाइ गरेका थिए । उनले आचारसंहिता उलंघन गर्न नहुने र युवाहरू नेतृत्वमा आएमा कस्तो काम गर्छन् भन्ने सन्देश दिनका लागि आफ्नो टीमसहित सरसफाइमा लागेको उनले बताएका थिए । ‘हाम्रो अल्टिमेट उद्देश्य नेतृत्व यस्तो हो भन्ने सन्देश दिनु हो । मैले एउटा सन्देश र संकेत दिनु छ । मेरो उम्मेदवारी नै संकेत हो कि कांग्रेसमा युवा नेतृत्व चाहिएको छ जुन हामीले सभापतिको रूपमा पायौं, जानेको, बुझेको नेता छ । त्यसपछिको कार्यसमितिमा पनि यस्तै चाहिएको छ भनेर मैले उम्मेदवारी दिएको हुँ,’ सरसफाइ गर्दै डा. उपाध्यायले भनेका थिए, ‘यो गतिविधि के हो भन्दाखेरि मेरो कारणले गर्दा केही सरसफाइ हुन्छ, केही राम्रो हुन्छ भने मेरो खुसीको कुरा हो । एकजनाले सुरु गरेमा अरु पनि जोडिनुहुन्छ होला ।’ उनले विगतमा पनि चुनाव लड्दा सरसफाइ गर्दै आएको बताए ।
डा. उपाध्यायले सरसफाइको सुरु गरेको भोलिपल्ट भने कांग्रेसका नेता र कार्यकर्ता प्रतिनिधिले भृकुटीमण्डप र राष्ट्रिय सभागृह क्षेत्रमा सरसफाइ गरेका छन् ।
कांग्रेस कार्यकर्ताहरूले बिहीबार उम्मेदवारहरूले प्रचारका लागि वितरण गरिएका पम्प्लेटहरू सरसफाइ गरेका हुन् । राष्ट्रिय सभागृहको गेट, परिसर र भृकुटीमण्डप सडक फोहोर भएपछि प्रतिनिधिहरूले सरसफाइ गरेका हुन् । महामन्त्रीका उम्मेदवारले सुरु गरेको सरसफाइको अभियानलाई भोलिपल्ट अन्य प्रतिनिधिले पच्छ्याएका हुन् ।
यस्तो थियो कांग्रेसको आचारसंहिता
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि आचारसंहिता लागु गरेको थियो । समितिका सदस्य सचिव राजु कटुवालले गत शुक्रबार एक विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि उम्मेदवार बन्नेहरूका लागि आचारसंहिता लागु गरिएको थियो ।
निर्वाचन समितिले प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध लगाएको थियो । महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निषेध गरिएको समितिले जनाएको थियो ।
तर, निर्वाचन आचारसंहिता विपरीत मंगलबारदेखि नै पर्चा र पम्पलेट तथा ब्यानरले महाधिवेशन क्षेत्र भरिभराउ भएको थियो । जसको सरसफाइको सुरुवात महामन्त्रीका उम्मेदवार डा. सन्तोष उपाध्यायले गरेका थिए भने अन्य प्रतिनिधिले पनि पच्छ्याएका थिए ।
