ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी रहेको बताएका छन् ।
ललितपुरको पुल्चोकमा सोमबार आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेन–जी आन्दोलनबाट स्थापित शक्ति नभई अर्कै शक्तिले अहिले सरकार सञ्चालन गरिरहेको दाबी गरे । उनका अनुसार आन्दोलनले राजनीतिक शक्तिलाई सुधारका लागि दबाब दिने उद्देश्य राखे पनि त्यसपछि पुराना दल र नेताहरू विस्थापित भएका छन् ।
अचानक आएको जिम्मेवारीका कारण सरकारमा अनुभवको कमी देखिएको बताउँदै उनले फागुन २१ को निर्वाचनबाट जनताले सरकारलाई ठूलो जनमत दिइसकेकाले त्यसको अवमूल्यन गर्न नहुने बताए ।
‘जेन–जी आन्दोलन जुन भदौ २३ मा भयो, त्यसमा जसले आन्दोलन गर्यो, त्यो आन्दोलन गरेको शक्ति आज सत्तामा छैन । यो छुट्टै शक्ति आएर स्थापित भएको हो,’ ढकालले भने ।
उनले सरकारको अनुभवको कमीलाई सुधार गर्दै मुलुक र नागरिकको पक्षमा काम गर्नुपर्ने बताए ।