झापा। पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उद्देश्यले निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ ।
निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अहिले दैनिक सात सयदेखि आठ सय मिटर सडक कालोपत्र भइरहेको छ ।
“अझै चार महिना बाँकी छ । त्यस अवधिमा ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,” पन्तले भन्नुभयो ।
सडक निर्माणको तुलनामा पुल निर्माणको प्रगति भने केही कम छ । हाल पुल निर्माणको समग्र प्रगति ३१ प्रतिशत रहेको आयोजनाले जनाएको छ । पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन् । ३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुलको निर्माण पनि जारी छ । पश्चिम खण्डतर्फ रतुवा, बक्राहा र लोहन्द्रा नदीमा पुल निर्माण भइरहेको छ ।
आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणको कामलाई एकैसाथ अघि बढाइएको छ ।
पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ । त्यस्तै, चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास र पैदलयात्रीका लागि छवटा क्रसिङ निर्माण गरिनेछ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको हो । पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर काँकरभिट्टा–सितापुरी सडक स्तरोन्नतिका लागि रु १० अर्ब ६ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता भएको छ ।