वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि वीरगञ्जमा सुरु हुँदैछ ।
यसअघि असोज ९ गतेका लागि तय गरिएको महाधिवेशन अविरल वर्षाका कारण स्थगित गरी आजदेखि आयोजना गर्न लागिएको हो । महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ ।
विभिन्न पदमा गरी १ सय ३ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा भने पार्टी अध्यक्ष डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ ।
सात उपाध्यक्ष पदका लागि १४ जना, महासचिवका लागि तीन जना, दुई उपमहासचिव पदका लागि दुई जना र सात सचिव पदका लागि १० जनाले उम्मेदवारी दिएका छन् । यस्तै, कार्यकारिणी समिति सदस्य पदमा ७३ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षसहित सबै पदमा निर्वाचन हुने जनमत पार्टीले जनाएको छ । निर्वाचनमा उम्मेदवारले निर्वाचित हुन कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।