काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको छ महिनाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै सत्तापक्षले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाए। उनले सरकारको कार्यशैलीलाई ‘फासीवादी’ दिशातर्फ उन्मुख भएको टिप्पणीसमेत गरे।
थापाले गत निर्वाचनमा आफ्नो दलले व्यहोरेको पराजयलाई लोकतान्त्रिक प्रक्रियाको परिणामका रूपमा स्वीकार गरेको बताए। उनले निर्वाचनमा भएको पराजयलाई आत्मसमर्पण नभई आगामी राजनीतिक यात्राका लागि अवसरका रूपमा लिएको उल्लेख गरे।
सरकारको छ महिनाको कार्यकालको समीक्षा गर्दै उनले विधि निर्माण प्रक्रियामा सत्तापक्षले प्रतिपक्षका सुझावलाई पर्याप्त स्थान नदिएको आरोप लगाए। संसद्मा दर्ता भएका दर्जनौँ विधेयकमा प्रतिपक्षको धारणा बेवास्ता गर्दै सङ्ख्याको आधारमा विधेयक पारित गर्ने प्रयास भएको उनको दाबी थियो।
उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै राजनीतिक सहमति निर्माणका लागि सभामुखले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। पछिल्लो समय सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने प्रयास गर्नु तथा सत्तापक्षकै केही सांसदले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउनु भने सकारात्मक सङ्केत भएको उनले उल्लेख गरे।
‘पराजयको स्वीकारोक्ति आत्मसमर्पण होइन, हामीले यसलाई भावी विजयको अवसरका रूपमा लिएका छौँ,’ थापाले भने, ‘लोकतान्त्रिक प्रक्रिया संवाद र सहमतिमा आधारित हुनुपर्नेमा सत्तापक्षले सङ्ख्या र शक्तिको दम्भमा विधेयकहरू पेलेर पारित गर्ने काम गरेको छ।’
भदौ १० गतेको विपत्तिपछि रास्वपा सभापतिले सर्वपक्षीय संयन्त्र निर्माणका लागि गरेको पहलको स्वागत गर्दै थापाले संसदीय विशेष समितिमा राष्ट्रिय सभालाई समावेश नगरिनु त्रुटिपूर्ण भएको बताए।
पूर्वप्रधानमन्त्रीको गिरफ्तारीदेखि पछिल्ला राजनीतिक घटनाक्रमसम्म सरकारको कार्यशैली लोकतान्त्रिक मान्यताविपरीत दिशामा अघि बढेको आरोपसमेत उनले लगाए।