काठमाडौँ । संघीय संसदअन्तर्गत आज पाँचवटा समितिको बैठक बस्दैछ। प्रतिनिधिसभाका दुई तथा राष्ट्रियसभाका तीन समितिको बैठकमा विभिन्न विषयमा छलफल हुँदैछ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ९ बजेबाट सुरु हुनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौतीका विषयमा छलफल हुने कार्यसूची छ।
त्यस्तै, सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफल उपसमितिको कार्यप्रगति तथा स्थलगत निरीक्षणका विषयमा छलफल हुने समितिले जनाएको छ।
राष्ट्रियसभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा समिति र कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयका विषयमा छलफल हुनेछ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८२/८३ को समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ।
त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन तथा अनुगमनलगायतका विषयमा छलफल हुने समितिले जनाएको छ।