स्याङ्जा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट जिल्ला सभापति राजु थापासहित ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। थापा १ हजार १७ मत प्राप्त गर्दै क्षेत्रबाट सर्वाधिक मतसहित निर्वाचित भएका हुन्।
थापा यसअघि १४औँ महाधिवेशनमा पनि क्षेत्र नं. १ बाट सर्वाधिक मत प्राप्त गरी महाधिवेशन प्रतिनिधि बनेका थिए। यसपटक पनि खुलातर्फ सबैभन्दा बढी मत ल्याएसँगै उनको महाधिवेशन प्रतिनिधिका रूपमा निरन्तरता भएको हो।
खुलातर्फ भरतराज ढकाल, अनुप श्रेष्ठ, अजित अधिकारी क्षेत्री, प्रकाश तिवारी, तुलसीराम रेग्मी, धनराज गुरुङ, भरतप्रसाद लम्साल, दीपक लम्साल र गोविन्दबहादुर रानाभाट निर्वाचित भएका छन्।
निर्वाचित ढकाल यसअघि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थिए। अनुप श्रेष्ठ काजिमान हरिटीका माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन्। क्षेत्री यसअघि पनि महाधिवेशन प्रतिनिधि भइसकेका छन्। उनी हाल कांग्रेस गण्डकी प्रदेश सदस्य तथा भ्रातृ समन्वय विभाग प्रमुख छन्।
प्रकाश तिवारी अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष हुन्। उनको नेतृत्वमा पालिकालाई पर्यटनको हबका रूपमा विकास गर्ने विभिन्न काम अघि बढाइएको कांग्रेसले जनाएको छ। तिवारीको परिकल्पनामा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण गरिएको बताइएको छ। जनजाति महिलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित सपना गुरुङले पनि गाउँपालिकाको विकास अभियानमा साथ दिएकी छन्।
यस्तै, तुलसीराम रेग्मी पुतलीबजार नगरपालिकाका नगरप्रमुख तथा निवर्तमान क्षेत्रीय सभापति हुन्। खुला महिलातर्फ निर्वाचित देवी अर्याल पुतलीबजार नगरपालिकाकी उपप्रमुख हुन्।
खुलातर्फ निर्वाचित धनराज गुरुङ कांग्रेसका केन्द्रीय नेता हुन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा उपसभापति रहिसकेका छन्। भरतप्रसाद लम्साल कांग्रेस जिल्ला कार्यसमितिका प्रवक्ता हुन् भने दीपक लम्साल र गोविन्दबहादुर रानाभाट पनि कांग्रेसका नेता हुन्।
खुला महिलातर्फ उर्मिला गुरुङ सर्वाधिक मतसहित निर्वाचित भएकी छन्। उनी दक्षिण एसियाकै पहिलो होमस्टेका रूपमा चिनिने सिरुबारी होमस्टेकी अगुवा हुन्। उनीसँगै देवी अर्याल, तारा मल्ल र बन्दना लम्साल निर्वाचित भएका छन्।
विभिन्न समावेशी तथा क्लस्टरतर्फ पनि प्रतिनिधि चयन भएका छन्। दलिततर्फ दीपक बि.क., श्रमिकतर्फ महेशबहादुर थापा (गणेश) र पेसागततर्फ इन्जिनियर सुदर्शन शर्मा निर्वाचित भएका छन्।
३५ वर्षमुनिको युवातर्फ महिलामा रेजिना खड्का तथा खुलातर्फ इन्जिनियर सुबास पौडेल र सौजन गुरुङ निर्वाचित भएका छन्।
अपांगता क्लस्टरतर्फ दिपेन्द्र खड्का, सहिद परिवारतर्फ ओमबहादुर भट्ट क्षेत्री र मुस्लिमतर्फ सा. मोहम्मद मिया निर्वाचित भएका छन्। दलित महिलातर्फ अनिता रुचाल र दलित खुलातर्फ सुजन गहतराज निर्वाचित भएका छन्।
जनजाति महिलातर्फ सपना गुरुङ तथा जनजाति खुलातर्फ गोविन्दकुमार कर्माचार्य र नेमबहादुर राना निर्वाचित भएका छन्। कर्माचार्य भीरकोट नगरपालिकाका नगरप्रमुख हुन्।
समानुपातिकतर्फ खस आर्य महिलामा कौशिला पौडेल क्षेत्री र सीता गोदार तथा खस आर्य खुलातर्फ विज्ञान भण्डारी, ध्रुवबन्धु पौडेल र चन्द्रकान्त पोखरेल निर्वाचित भएका छन्।
यसपटक कांग्रेसले ३५ वर्षमुनिको युवा क्लस्टर समावेश गरेकाले क्षेत्र नं. १ बाट पनि युवाहरूले केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अवसर पाएका छन्। विभिन्न क्लस्टर र समावेशी समूहबाट प्रतिनिधि चयन भएसँगै स्याङ्जा क्षेत्र नं. १ को १५औँ महाधिवेशनका लागि प्रतिनिधित्व टुंगिएको छ।
यसैबीच, स्याङ्जा क्षेत्र नं. २ को रोकिएको क्षेत्रीय अधिवेशनको मतदान शुक्रबार पुनः हुने भएको छ। विवादित मतदान प्रक्रिया पुनः सञ्चालन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएपछि शुक्रबार बिहान ८ बजेदेखि मतदान हुने भएको हो।