काठमाडौँ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदप्रति सरकारको व्यवहार र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। उनले बहुमतसँगै शासनको कौशल, संवाद, समन्वय र जवाफदेहिता पनि देखिनुपर्ने बताए।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै आङदेम्बेले संसद सरकारको प्रतिस्पर्धी नभई लोकतन्त्रको साझा संस्था भएकाले संसद, प्रतिपक्ष र जनताका प्रश्नलाई सरकारले सम्मान गर्नुपर्ने बताए। सरकार बहुमतको आधारमा सीमित राजनीतिक घेराभित्र केन्द्रित हुन खोजेको आरोप लगाउँदै उनले संवैधानिक निकाय र नागरिक समाजलाई समेत साथ लिएर अघि बढ्न सुझाव दिए।
प्रधानमन्त्रीको हालैको संयुक्त राष्ट्रसंघीय महासभा भ्रमणबारे पनि आङदेम्बेले प्रश्न उठाए। महासभामा जानुअघि संसदलाई जानकारी नदिएको र फर्किएपछि भ्रमणका क्रममा भएका गतिविधिबारे सदनलाई जानकारी नगराएको भन्दै उनले संसदीय परम्पराप्रति सरकार गम्भीर हुनुपर्ने बताए।
महासभामा जलवायु परिवर्तनसँगै प्रविधि, कृत्रिम बुद्धिमत्ता, डिजिटल विभाजन, वित्तीय संरचना सुधार र नेपालको भू–राजनीतिक सम्भावनाका विषय प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ थियो। आगामी कोप सम्मेलनमा जलवायु, हानि–क्षति र नेपालको हितका विषयलाई प्राथमिकता दिन उनले सरकारलाई आग्रह गरे।
संसद बैठकमा प्रधानमन्त्रीको पटक–पटकको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै आङदेम्बेले भने, ‘यो आफूलाई मन लागेको बेला आउने र मन नलाग्दा उठेर जाने मधुशाला होइन।’
सत्तामा पुगेपछि कार्यकारी अधिकार केन्द्रित गर्ने र आलोचकका आवाज दबाउने प्रवृत्ति घातक हुने उल्लेख गर्दै उनले आक्रोश र डिजिटल लोकप्रियताका आधारमा राज्य सञ्चालन हुन नसक्ने बताए। संस्थागत लोकतन्त्र, विधिको शासन, संवाद र जवाफदेहितालाई प्राथमिकतामा राख्न उनले सरकारलाई आग्रह गरे।