काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले समग्रमा जनहितमा अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
बिहीबार पार्टीका दुवै सदनका संसदीय समितिको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारको पछिल्लो ६ महिनाको समीक्षा गर्दा केही सकारात्मक काम भए पनि समग्र दिशा सही नरहेको बताए।
‘तर समग्रमा हेर्दा सरकार ठीक दिशातिर गइराख्या छैन,’ उनले भने।
सरकारले राम्रो काम गर्दा सहयोग र गलत काम गर्दा आलोचना गर्ने पार्टीको नीति रहेको उनले बताए। दैनिक उपभोग्य वस्तुको बढ्दो महँगीलगायत जनसरोकारका विषयमा नेकपाले जनतालाई सचेत बनाउने काम गरिरहेको उनको भनाइ थियो।
रसुवा बाढीपछि भएको विपद् प्रतिकार्यमा नेकपा सबैभन्दा बढी सक्रिय रहेको दाबी समेत उनले गरे।