काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले दुई दशकदेखि अलपत्र संक्रमणकालीन न्यायसम्बन्धी फाइल तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले शान्ति मन्त्रालय हुँदै गृह र कानुन मन्त्रालयसम्म पुगेका न्यायसम्बन्धी फाइल अझै दराजमै थन्किनु दुःखद भएको बताइन्। लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडितको मुद्दा प्रशासनिक ढिलाइका कारण अघि बढ्न नसकेको उनको भनाइ थियो।
‘सरकारले सात दिनभित्र फाइल अगाडि बढाउने भनेको कुरा सकारात्मक छ, तर ती फाइलहरू कहाँ र कुन अवस्थामा छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ उनले भनिन्।
बास्कोटाले पछिल्लो एक वर्षदेखि गृह मन्त्रालयमा अड्किएको ‘जेन–जी’ आन्दोलनसँग सम्बन्धित फाइल पनि तत्काल अघि बढाउन माग गरिन्। सरकारले सात दिनभित्र फाइल निर्णयार्थ पेस गर्ने प्रतिबद्धता कार्यान्वयनमै देखिनुपर्ने उनले बताइन्।