काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले युवालाई स्वदेशमै अवसर र भविष्य सुनिश्चित गर्न ठोस कार्ययोजना बनाउन सरकारको ध्यानाकर्षण गराए। शिक्षा र श्रम बजारबीचको खाडलका कारण नेपालले दक्ष जनशक्ति गुमाइरहेको बताउँदै उनले त्यसलाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्नुपर्ने बताए।
‘नेपालले बच्चा हुर्काउँछ, पढाउँछ र योग्य बनाउँछ, तर युवा अवस्थामा पुग्दा श्रम, सीप र सपना बोकेका युवाहरू विदेशिन बाध्य छन्,’ उनले भने।
विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै न्यौपानेले एनआरएनको भावनासमेत समेटेर दोहोरो नागरिकता, डिजिटल मतदान र राजनीतिक अधिकार सुनिश्चित हुने गरी कानुन संशोधन गर्नुपर्ने बताए।