काठमाडौं । बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। ट्रयाक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार रसुवा जोड्ने मुख्य सडकका रूपमा रहेको उक्त खण्डमा ट्रयाक खुले पनि सडकको ग्रेड मिलाउने र ग्राभेल बिछ्याउने काम भने बाँकी छ।
निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारी आवतजावत हुँदा काम प्रभावित भइरहेको भन्दै मन्त्री लम्सालले निर्माण कार्यमा आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका छन्।
यसैबीच, ट्रयाक खुलेसँगै सडकखण्डमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको छ। नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा पुल जडानको तयारी भइरहेको छ।
त्यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माणसमेत अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिएका छन्। निर्माण कार्यलाई तीव्रता दिँदै आगामी एक साताभित्र दुवैतर्फ बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बाढीले सडक संरचनामा क्षति पुर्याएपछि रसुवा आवतजावत प्रभावित हुँदै आएको थियो। ट्रयाक खुलेपछि यातायात सञ्चालनमा केही सहजता आउने र बेलिब्रिज जडानपछि सडकमार्ग थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।