म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ । जिल्लाका पाँच स्थानीय तहमा नेतृत्व सर्वसम्मत चयन हुँदा मङ्गला गाउँपालिकामा भने मतदानमार्फत सभापति चयन गरिएको हो ।
धौलागिरि, मालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा सभापतिसहितको नेतृत्व सर्वसम्मत चयन भएको कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।
रकालका अनुसार बेनी नगरपालिकाको सभापतिमा चक्र केसी, धौलागिरिमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली, रघुगङ्गामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिकामा कृष्णप्रसाद बरुवाल निर्विरोध चयन हुनुभएको छ ।
मङ्गला गाउँपालिकाको सभापतिमा भने गोपाल भट्टचन निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतले पराजित गर्नुभएको हो । भट्टचनले ४१ मत प्राप्त गर्दा केसीले ३९ मत पाउनुभयो ।
छ स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा पनि सर्वसम्मत रूपमा नेतृत्व, पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधि चयन भइसकेको सचिव रकालले बताउनुभयो ।