काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार निरंकुशताउन्मुख भएको आरोप लगाएका छन् । विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालन भइरहेको उनको दाबी छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिक अझै बिचल्लीमा रहेको भन्दै तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरे । चाडपर्व नजिकिँदासमेत बाढीपीडितको पुनर्वासमा सरकारले चासो नदिएको उनको आरोप थियो ।
जेन–जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी कार्यान्वयन गर्न पनि उनले माग गरे । गत वर्ष २४ भदौमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने उनको भनाइ थियो ।
‘विधि, संस्था र पद्धतिभन्दा व्यक्तित्वको प्रभुत्वमा देश सञ्चालित भइरहेको छ । यो दुःखद् कुरा हो,’ केसीले भने ।
उनले बाढीपीडितको अवस्थाबारे संसदीय विशेष समिति तत्काल गठन गर्न पनि माग गरे । मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु नागरिकको सुसूचित हुने अधिकारमाथिको आक्रमण भएको उनको टिप्पणी थियो।