म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले करिब आठ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको सुविधासम्पन्न भवनको काम सकेर जतिसक्दो छिटो कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ।
धवलागिरि गाउँपालिका–३ घट्टेखोलामा विसं २०७९ देखि निर्माण सुरु भएको भवनको हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार बाँकी निर्माण कार्य सम्पन्न गरी नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भइरहेको छ।
हाल गाउँपालिकाले साविक मुना गाविसको भवनमा तला र कोठा थप गरेर सेवा प्रवाह गर्दै आएको छ। घट्टेखोलामा स्थानीयवासीबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएपछि संघीय सरकारसँगको साझेदारीमा प्रशासकीय भवन निर्माणको योजना अघि बढाइएको थियो।
आर्थिक वर्ष २०७९/८० मा प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीसँग सात करोड ७१ लाख ८९ हजार ६६६ रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता भएको थियो। निर्माण सामग्रीको मूल्य वृद्धि तथा संघीय सरकारबाट भुक्तानी कर तिर्नुपर्ने दायित्वको रकम आउन ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए।
म्याग्दीका पाँच गाउँपालिकामध्ये प्रशासकीय भवन निर्माण गर्ने पहिलो गाउँपालिका बनेको धवलागिरिको नयाँ भवन तीनतले हुनेछ। भवनमा २७ वटा कोठाका साथै एक सभाहल र एक बैठक कक्ष निर्माण भइरहेको छ।
प्रशासकीय भवनसँगै गाउँपालिकामा वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक भवन निर्माणले पनि गति लिएको छ। धवलागिरि गाउँपालिका–७ ताकममा पाँच शय्या क्षमताको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा छ।
त्यस्तै, गुर्जा, मल्कबाङ, मुना र मुदीमा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण भइसकेका छन्। लमसुङ र मराङमा भने यसअघि नै स्वास्थ्य चौकी भवन निर्माण गरिएको थियो।
सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले धवलागिरि–२ लुलाङ, वडा नं ४ मुदी, वडा नं ६ मराङ र वडा नं ७ ताकममा नयाँ वडा कार्यालय भवन निर्माण सम्पन्न भइसकेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।
उनका अनुसार धवलागिरि–५ मल्कबाङमा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सामुदायिक भवनबाट सेवा प्रवाह भइरहेको छ। गाउँपालिकाले गुर्जामा पनि वडा कार्यालय भवन निर्माण गर्ने योजना बनाएको उपाध्यक्ष पुनमगरले जानकारी दिए।