काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोदेखि सुरु भएको सचिवालय बैठक आज पनि निरन्तरता पाउन लागेको हो ।
निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि हिजो स्थगित भएको सचिवालय बैठक आज पुनः बस्न लागेको हो ।
यसैबीच, एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भैँसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुनेछ । फागुनमा सम्पन्न निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकमा सबै केन्द्रीय कमिटी सदस्यलाई धारणा राख्ने समय उपलब्ध गराउने पार्टीको तयारी छ ।