काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार र आइतबार गरी उक्त वडाहरूमा अधिवेशन सम्पन्न भएको हो । समितिका सदस्य–सचिव राजु कटुवालले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन तथा क्षेत्रीय प्रतिनिधि निर्वाचन उत्साहपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने हालसम्म वडा अधिवेशन हुन सकेको छैन ।
निर्वाचन कार्यक्रमअनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङको क्षेत्र नं. ६ बाहेकका क्षेत्र र सुनसरीलगायत जिल्लामा अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।
त्यसैगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको छ ।
सदस्य–सचिव कटुवालका अनुसार सप्तरीका क्षेत्र नं. २ र ४, सर्लाहीको क्षेत्र नं. २, रौतहटको क्षेत्र नं. १ तथा परासीको क्षेत्र नं. २ बाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा अधिवेशन प्रक्रिया अघि बढेको छ ।
निर्वाचन समितिले रसुवा, नुवाकोट र धादिङबाहेक सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङको क्षेत्र नं. ६, रौतहटको क्षेत्र नं. १, सर्लाहीको क्षेत्र नं. २ र परासीको क्षेत्र नं. २ मा बाँकी रहेका अधिवेशन सञ्चालन गर्ने जनाएको छ ।
यसैगरी असोज ४ गते सम्पन्न हुन नसकेका सबै वडा अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने निर्वाचन समितिले जानकारी दिएको छ ।