धादिङ। सडक विभागले धादिङको कृष्णभीरमा पटक–पटक देखिँदै आएको पहिरोको समस्या समाधानका लागि सुरुङमार्ग निर्माण वा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तार गर्ने दुई विकल्पमा अध्ययन थालेको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार कृष्णभीरको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दीर्घकालीन समाधानका लागि दुवै विकल्पको प्राविधिक तथा लागत अध्ययन भइरहेको बताए। प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती विकल्प छनोट गरेर अघि बढ्ने उनले बताए।
हालैको वर्षा र बाढीका कारण कृष्णभीरको तल्लो भाग कटान भएपछि पहिरो पुनः सक्रिय भएको जैसीले बताए। रसुवामा आएको बाढीपछि सुरक्षा पर्खाल भत्किँदा पहिरो बल्झिएको र सडक सञ्चालनका क्रममा भित्री भागमा अपेक्षाभन्दा बढी दरार देखिएको उनले जानकारी दिए।
‘अहिले ट्रयाक खोल्ने क्रममा भित्री भागमा सोचेभन्दा बढी दरार देखिएका छन्। ती दरारलाई तत्काल सिल गर्ने र विज्ञहरूको परामर्शमा थप विश्लेषण गर्ने काम भइरहेको छ,’ जैसीले भने।
यातायात सञ्चालनका लागि विभागले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए। विश्व बैंकको ठेक्काअन्तर्गतका निर्माण व्यवसायी तथा उपकरण परिचालन गरिएको र रातको समयमा फ्लड लाइट प्रयोग गरेरसमेत काम भइरहेको उनले जानकारी दिए। प्राविधिक जटिलताका कारण सडक पूर्ण रूपमा कहिले सञ्चालन हुन्छ भन्ने यकिन मिति तोक्न कठिन भए पनि कामलाई तीव्रता दिइएको उनले बताए।
कृष्णभीरको स्थायी समाधानका लागि पहिलो विकल्पका रूपमा सुरुङमार्ग निर्माण र दोस्रो विकल्पका रूपमा त्रिशूली नदीको अर्को किनारबाट वैकल्पिक सडक विस्तार गरी दुईवटा पुल निर्माण गर्ने विषयमा अध्ययन भइरहेको छ।
यसैबीच, त्रिशूली करिडोरसहित विभिन्न क्षेत्रमा क्षतिग्रस्त करिब २९ वटा पुलको मर्मत तथा पुनर्निर्माणलाई विभागले प्राथमिकतामा राखेको छ। धादिङको फुर्केखोला पुलमा ९४ मिटर लामो स्पानमा पिलरबिनाको बेलीब्रिज राख्ने विषयमा चिनियाँ विशेषज्ञसँग परामर्श भइरहेको जैसीले बताए।
चीनबाट ल्याइएको सय मिटर लामो पुल फुर्केखोलामा जडान गर्न सकिए दुईदेखि तीन साताभित्र यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ।
राष्ट्रिय योजना आयोगका सदस्य र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसहितको टोलीले समेत कृष्णभीरको स्थलगत निरीक्षण गरी समस्या शीघ्र समाधान गर्न निर्देशन दिएको छ। देशभरको करिब १४ हजार किलोमिटर सडक सञ्जाल व्यवस्थित राख्ने चुनौती भए पनि उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विभाग चौबीसै घण्टा परिचालन भइरहेको जैसीले बताए।
सडक विभागले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै सुरक्षित रूपमा सडक सञ्चालनमा ल्याउन आवश्यक सबै उपाय अवलम्बन गरिरहेको जनाएको छ।