काठमाडौं। भोटेकोशीमा आएको बाढी र त्यसपछिको पहिरोले देशको रणनीतिक सडक सञ्जालमा ठूलो क्षति पुर्याएको छ। सडक विभागका अनुसार गल्छी–बेत्रावती–रसुवागढी सडकको विदुर–रसुवागढी खण्डमा मात्रै ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ। बाढीले देशभर विभाग मातहतका ३१ वटा पुलमा क्षति पुर्याएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार ८२ किलोमिटर लामो गल्छी–बेत्रावती–रसुवागढी सडकखण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक बाढीले बगाएको हो।
पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा पनि नदी कटानले सडकको ठूलो हिस्सा बगाएपछि यातायात प्रभावित भएको छ। गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो। विभागले चुनौतीपूर्ण अवस्थाबीच लेदो हटाएर ती खण्डमा यातायात सञ्चालनमा ल्याएको जैसीले बताए।
कृष्णभीरको अवरोध हटाउन सडकको भित्ता काट्ने वा त्रिशूली नदीको पारिपट्टिबाट नयाँ ट्र्याक खोल्ने विकल्पमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञसँग परामर्श भइरहेको उनले बताए।
बाढीले क्षति पुर्याएका ३१ पुलमध्ये केही पूर्ण रूपमा बगेका छन् भने केहीको स्पानमा क्षति पुगेको विभागले जनाएको छ। तत्काल यातायात सञ्चालनका लागि तीन स्थानमा बेलिब्रिज जडान प्रक्रिया अघि बढाइएको छ। देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज राख्ने तयारी छ भने त्रिशूली बजार र बेत्रावतीमा बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ। थप २० क्षतिग्रस्त पुलको प्राविधिक सर्वेक्षण भइरहेको र आवश्यकताअनुसार बेलिब्रिज राखिने विभागले जनाएको छ।
फुर्केखोलाको पुल भाँचिएपछि धादिङबेंसीसँगको सम्पर्क माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गबाट कायम गरिएको छ। काठमाडौं–धुन्चे आवागमनका लागि टोखा–छहरे–विदुर–बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ।
सडकको आकस्मिक मर्मत तथा पुनःस्थापनाका लागि सडक बोर्डले तत्काल ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ। थप खर्च आवश्यक परे योजनाअन्तर्गतकै बजेटबाट व्यवस्थापन गरिने विभागले जनाएको छ। क्षतिग्रस्त सडक तथा पुलको मर्मतका लागि ५० भन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्स परिचालन गरिएको छ भने विभिन्न खण्डमा १५ भन्दा बढी हेभी इक्विपमेन्ट सञ्चालनमा छन्।
दशैं नजिकिँदै गर्दा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहज बनाउन त्रिभुवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको विभागले जनाएको छ। वीपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिइनेछ भने अत्यावश्यक सामग्री बोकेका ट्रकलाई राति हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ।
विभागका अनुसार कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके–दुहाली खण्डको अवरोध पनि हटाइएको छ। वर्षायाम अझै बाँकी रहेकाले सम्भावित क्षतिका लागि विभागका सबै संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखिएको जैसीले बताए।