महोत्तरी ।महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा साउन शुक्ल तृतीयासँगै झुलनोत्सव सुरु भएको छ। शनिबारदेखि सुरु भएको यस पर्वसँगै मिथिलाका मठमन्दिरमा झुलागीत, भजनकीर्तन र भक्तिको रौनक छाएको छ।
हिन्दु परम्परामा भगवान् विष्णु र भगवती लक्ष्मीको आराधनासँग जोडिएको यस पर्वमा विष्णु–लक्ष्मीका अवतार मानिने राम–सीता तथा राधा–कृष्णका प्रतिमालाई कलात्मक झुला (कोक्रा)मा राखेर भक्ति गीत गाउँदै झुलाउने गरिन्छ। साउन पूर्णिमाका दिन झुलाको डोरी चुडाएर पर्व समापन गर्ने मैथिल परम्परा छ।
झुलनोत्सव विशेषगरी मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ। महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर तथा वैष्णव मठमा साधुसन्तदेखि सर्वसाधारणसम्म भेला भएर झुला हल्लाउँदै भजनकीर्तन र नृत्यमा रमाउने गरेका छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार झुलनोत्सव बालरूप भगवान् र भगवतीलाई झुलाउने परम्परासँग सम्बन्धित छ। उनका अनुसार श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले बालरूपमा भगवान्लाई कोक्रामा हल्लाएको स्मरणस्वरूप यो पर्व मनाउने गरिन्छ।
पर्वको सुरुआतका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बाजागाजासहित झुलाघर पुर्याइएको थियो। त्यसपछि झुलामा प्रतिमा राखी विधिवत् रूपमा पर्व सुरु गरिएको हो। पर्वभरि स्थानीय तथा सीमावर्ती भारतीय क्षेत्रका विभिन्न मठमन्दिरबाट समेत प्रतिमा ल्याएर झुलाउने गरिन्छ।
झुला उत्सवमा मिथिलाको मौलिक लोकलयमा झुला, मलार र कजरी गीत गाउने परम्परा छ। प्राचीन मिथिलाका विभिन्न क्षेत्रमा मनाइने यो पर्व महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ–मन्दिर र जनकपुरस्थित जानकी मन्दिरमा विशेष प्रसिद्ध छ। त्यस्तै जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीलगायतका धार्मिक स्थलमा पनि झुलामहोत्सव आयोजना गरिन्छ।
मिथिलामा झुलनोत्सव अयोध्या र वृन्दावनको धार्मिक परम्पराबाट प्रभावित भएर भित्रिएको जनविश्वास छ। जनकपुरधाम सीताको माइती भएकाले ज्वाइँ भगवान् रामलाई प्रसन्न पार्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउने चलन सुरु भएको मानिन्छ। विसं १७८७ तिर सन्त सुरकिशोर दासले मिथिलामा झुलनोत्सवको सुरुआत गराएको स्थानीय धार्मिक मान्यता छ।
जनकपुरमा झुला पर्वको सुरुआत साउन शुक्ल तृतीयाका दिन मणिपर्वतको पूजाबाट गर्ने परम्परा पनि छ। मणिपर्वत जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तर–पश्चिममा अवस्थित छ। राम–सीताको विवाहका क्रममा राजा जनकले दिएको दाइजोका हिरा, रत्न र मणिमाणिक्य थुप्रिएर पहाडजस्तो बनेको स्थानलाई अहिले मणिपर्वतका रूपमा चिनिन्छ।
मटिहानीमा भने झुलनोत्सवका लागि छुट्टै झुलाघर निर्माण गरिएको छ। लक्ष्मीनारायण मठ तथा मन्दिरबाट विष्णु–लक्ष्मीका प्रतिमा डोलीमा बोकेर झुलाघरमा ल्याई झुलाउने गरिन्छ। यस वर्ष पनि महोत्तरी तथा सीमावर्ती भारतका विभिन्न मठमन्दिरबाट प्रतिमा ल्याइएका छन्। पर्वभरि साधुसन्त तथा श्रद्धालुको ठूलो जमघट हुने गर्दछ।
याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ, मटिहानीका मैथिली भाषा–साहित्यका उपप्राध्यापक मनोज झा ‘मुक्ति’का अनुसार मिथिलामा प्रचलित विद्यापति र मिथिला पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि नयाँ वर्षको सुरुआत मानिन्छ। त्यसैले साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षाबन्धनजस्ता पर्वले मिथिलामा वर्षभरिका चाडपर्वको सिलसिला सुरु भएको संकेत गर्छन्।
भक्ति, सांस्कृतिक परम्परा र लोकमनोरञ्जनलाई एकैसाथ समेटेको झुलनोत्सवले मिथिलाको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानलाई पुस्तौँदेखि निरन्तरता दिँदै आएको छ।