बाजुरा । लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुर्याएको छ । पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २८ साउन बेलुकीदेखि परेको अविरल वर्षाका कारण गएराति पहिरो गएको हो ।
स्थानीय टेकबहादुर थापाले राति करिब १२ः१० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा फोन गरी पहिरोका कारण धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको जानकारी गराएका थिए । उनका अनुसार घटनामा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता छन् ।
सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमान्डमा चार सदस्यीय टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । तर, ताम्सु खोलामा पानीको बहाव बढेकाले टोली तत्काल घटनास्थल पुग्न सकेन ।
उद्धारका लागि बिहान ४ बजे प्रहरी चौकी बर्जुगाड र अस्थायी प्रहरी बेस क्याम्पबाट थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको कमान्डमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ पठाइएको छ ।
घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब चार किलोमिटर उत्तरमा पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।