चितवन । चितवनमा चालु साउन महिनामा चार जनामा डेङ्गु र ३४ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका स्थानीय बासिन्दामध्ये दुई जनामा डेङ्गु र छ जनामा स्क्रब टाइफस देखिएको हो ।
कार्यालयका अनुसार कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा डेङ्गु पुष्टि भएको छ । यस्तै, भरतपुर महानगरपालिकाका पाँच जना र रत्ननगर नगरपालिकाका एक जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ । भरतपुरका सङ्क्रमितमध्ये चार महिला र एक पुरुष छन् ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयले जनाएको छ । यससँगै साउनमा चितवनमा अभिलेख भएका डेङ्गु सङ्क्रमितको सङ्ख्या चार र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ३४ पुगेको हो ।
जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म डेङ्गुका लागि १७८ र स्क्रब टाइफसका लागि २११ जनाको परीक्षण गरिएको छ । दुवै रोगका कारण हालसम्म चितवनमा कुनै पनि मृत्यु नभएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।
‘लार्भा खोज र नष्ट गर’ अभियान
वर्षायामसँगै डेङ्गुको जोखिम बढ्ने भएकाले कार्यालयले स्थानीय तहसँगको समन्वयमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । इच्छाकामना गाउँपालिकाबाट अभियान सुरु गरिएको र अन्य पालिकामा पनि अभियानसँगै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको केसीले बताए ।
अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिलगायत सहभागी छन् । टोलीले लामखुट्टेको लार्भा खोजी नष्ट गर्नुका साथै डेङ्गुबाट बच्ने उपायबारे नागरिकलाई सचेत गराउँदै आएको छ ।
डेङ्गुको मुख्य सिजन भएकाले लामखुट्टेले फुल पार्न सक्ने स्थानमा पानी जम्न नदिन केसीले आग्रह गरेका छन् । घरआँगन तथा वरपरका झाडी, पुराना टायर, गमला लगायतका स्थानमा पानी जम्न नदिई नियमित सफा राख्नुपर्ने उनको सुझाव छ ।
स्क्रब टाइफसको जोखिम पनि यही समयमा बढ्ने भएकाले घरवरपर झाडी नराख्न, सरसफाइमा ध्यान दिन तथा घाँस काट्दा, खेतबारी वा जङ्गलमा जाँदा सावधानी अपनाउन उनले आग्रह गरे । झाडी तथा घाँसमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने र किर्नाको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्ने उनले बताए ।
ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिने जस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा गई परीक्षण गराउन पनि केसीले आग्रह गरेका छन् ।
गत आवमा २१६ जनामा डेङ्गु, ६२१ जनामा स्क्रब टाइफस
गत आर्थिक वर्ष २०८२/८३ मा पनि चितवनमा डेङ्गु र स्क्रब टाइफसका सङ्क्रमित उल्लेख्य सङ्ख्यामा भेटिएका थिए । कार्यालयका अनुसार आवको अन्त्यसम्म जिल्लाका स्थानीय २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस पुष्टि भएको थियो ।
अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका बिरामीसमेत जोड्दा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७४ र स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ८९३ पुगेको थियो ।
गत आवमा स्थानीय तहअनुसार सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित रत्ननगरमा ८७, भरतपुरमा ५६ र खैरहनीमा ३५ जना थिए । स्क्रब टाइफसका सङ्क्रमित रत्ननगरमा २४६, खैरहनीमा ११७ र भरतपुरमा ९० जना रहेका थिए ।
उक्त अवधिमा डेङ्गुका १० हजार ५२३ र स्क्रब टाइफसका ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो । गत आवमा पनि यी दुवै रोगका कारण चितवनमा कुनै पनि व्यक्तिको मृत्यु नभएको कार्यालयले जनाएको छ ।