काठमाडौं । सिंहदरबार परिसरमा सहुलियत मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले बिक्री कक्षको उद्घाटन गर्दै सिंहदरबारमा कार्यरत कर्मचारी र सेवाग्राहीलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने बताइन् । कार्यालय समयपछि घर फर्किने क्रममा आवश्यक सामान खरिद गर्न सकिने भएकाले समय बचत हुने उनको भनाइ छ ।
‘यहाँ दैनिक उपभोग्य १४२ प्रकारका खाद्य सामग्री उपलब्ध छन्,’ मन्त्री कुमारीले भनिन् ।
उनका अनुसार देशका विभिन्न पाँच स्थानमा यस्ता बिक्री कक्ष सञ्चालनमा छन् । सेवा विस्तार गर्दै निजी क्षेत्रका भाटभटेनीलगायत सुपरमार्केटमा समेत सरकारी स्टल राख्ने विषयमा गृहकार्य भइरहेको उनले बताइन् ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कर्मचारी तथा सेवाग्राहीको मागअनुसार सिंहदरबारमा बिक्री कक्ष सञ्चालन गरिएको बताए । उनका अनुसार कम्पनीले देशभर १ सय ९३ स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिरहेको छ । कम्पनीका खाद्यान्नमा प्रतिकिलो पाँच रुपैयाँ छुटको व्यवस्था छ ।
कर्णालीका सबै जिल्ला र स्थानीय तहमा सम्झौतामार्फत बिक्री केन्द्र सञ्चालनमा रहेको लम्सालले बताए । कम्पनीले किसानबाट समर्थन मूल्यमा खाद्यान्न खरिद गरी उपभोक्तालाई सहुलियत दरमा बिक्री गर्दै आएको छ ।
कोरोना महामारीका क्रममा सुरु गरिएको ‘होम डेलिभरी’ सेवा विशेष परिस्थितिमा अझै उपलब्ध रहेको भए पनि उपभोक्ताले बिक्री केन्द्रमै पुगेर सामान रोजेर खरिद गर्न बढी रुचाएको उनले बताए ।