काठमाडौं । सङ्घीय संसद् सचिवालयका अनुसार आज प्रतिनिधिसभाअन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति तथा महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । बैठकमा विभिन्न उपसमितिले तयार पारेका प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि परेका संशोधन प्रस्तावबारे संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ । समितिले जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य तथा दिगो कृषि विकासमा यसको सम्भाव्यताबारे छलफल गर्नेछ ।
पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे बस्नेछ । बैठकमा खानेपानी आपूर्ति कार्ययोजनासम्बन्धी प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, महिला तथा सामाजिक विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगतिका विषयमा छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।