काठमाडौं। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सार्वजनिक निकायका बैठक तथा छलफलमा तथ्यहीन र आधारहीन आरोप नलगाउन आग्रह गर्दै संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि आधारबिनै जथाभावी टिप्पणी गर्दा उनीहरूको मनोबलमा असर पर्ने बताए। प्रहरी प्रशासनसम्बन्धी उजुरी र निवेदनलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनको भनाइ थियो।
बैठकमा सांसद खगेन्द्र सुनारलगायतले नेपाल प्रहरीको खरिद प्रक्रिया र प्रशासनिक विषयमा प्रश्न उठाएपछि कार्कीले जिम्मेवार निकायमा बोल्दा शब्द र व्यवहारमा संवेदनशीलता अपनाउन आग्रह गरेका थिए।
‘जे मन लाग्यो त्यही भन्ने स्थान होइन होला त कुनैपनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि।’
कार्कीले तथ्यहीन आरोपले कर्मचारीको कार्यसम्पादन र संस्थाको मनोबलमा असर पार्ने भन्दै सार्वजनिक निकायका छलफलमा शिष्टता र संस्थागत मर्यादा कायम राख्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए।