काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको दाबी गर्दै त्यसको स्रोत र घटनाबारे उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्। उनले नेपाल प्रहरीको आन्तरिक खरिद प्रक्रियामा समेत व्यापक अनियमितता भएको गम्भीर आरोप लगाएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लामा हुने खरिद प्रक्रियामा पारदर्शिता नभएको र अवकाशप्राप्त प्रहरी लेखापालहरू नै ठेकेदार बनेर प्रहरीसँगको खरिदमा सक्रिय रहेको दाबी गरे।
उनले आईजीपीको निवासमा भएको भनिएको चोरीको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएर यातना दिएको आरोपसमेत लगाए। प्रहरीका लागि जुत्ता तथा लाठी (भाटा) खरिदमा ठूलो अनियमितता भएको उनको जिकिर थियो।
‘आईजीपीको घरमा चोरी भएको हो कि होइन ? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ’ उनले भने।
प्रहरीमा विपन्न परिवारका छोराछोरी भर्ना भएर देशको सेवा गरिरहेको उल्लेख गर्दै सुनारले उनीहरूले प्रयोग गर्ने सामग्रीको खरिदमै माथिल्लो तहबाट भ्रष्टाचार हुनु गम्भीर विषय भएको बताए। सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
छानबिन निष्पक्ष बनाउन गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने वा निलम्बन गर्नुपर्ने माग पनि उनले राखे। तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गर्न उनले समिति सभापतिलाई आग्रह गरे।
सुरक्षा बिटमा १८ वर्ष पत्रकारिता गरेको अनुभव सुनाउँदै सुनारले ठेकेदार र प्रहरी अधिकारीका कल डिटेल तथा मोबाइल नियन्त्रणमा लिएर सूक्ष्म अनुसन्धान गर्नुपर्ने बताए। ठूला भ्रष्टाचारका घटना सामसुम पार्ने प्रवृत्ति अन्त्य गरी दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने उनको भनाइ थियो।