काठमाडौं । आज विश्व बाघ दिवस (जुलाई २९) विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा सम्पन्न बाघ शिखर सम्मेलनको घोषणापछि बाघ संरक्षण र प्राकृतिक बासस्थान जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा कृषि, वन तथा वातावरण मन्त्रालयले मन्त्री गीता चौधरीको उपस्थितिमा पछिल्लो राष्ट्रिय बाघ गणनाको नतिजा सार्वजनिक गर्ने कार्यक्रम राखेको छ। नेपालमा सामान्यतया प्रत्येक चार वर्षमा बाघ गणना गरिन्छ।
सन् २०२२ को राष्ट्रिय गणनाअनुसार नेपालमा ३५५ वटा पाटेबाघ थिए। तीमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका थिए। पछिल्ला वर्षमा बासस्थान सुधार, आहारा प्रजातिको वृद्धि र संरक्षण प्रयास प्रभावकारी भएकाले यसपटक बाघको संख्या अझ बढ्ने अनुमान गरिएको छ।
बाघ स्वस्थ पारिस्थितिकीय प्रणालीको प्रमुख सूचक मानिन्छ। यो खाद्य शृंखलाको उच्च तहमा रहने भएकाले यसको संरक्षणले समग्र जैविक विविधता जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
विश्वभर पाँच हजारभन्दा बढी बाघ
हाल बाघ नेपालसहित भारत, चीन, बङ्गलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रूस, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्रै पाइन्छ।
सन् २०२५ सम्मको तथ्यांकअनुसार विश्वमा बाघको संख्या पाँच हजार ३५७ पुगेको छ। सन् २०१० मा यो संख्या करिब तीन हजार २०० मात्रै थियो।
सबैभन्दा बढी बाघ भारतमा तीन हजार १६७ छन्। त्यसपछि रूसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार नेपालमा सन् २०१० मा १२१, २०१४ मा १९८, २०१८ मा २३५ र २०२२ मा ३५५ वटा बाघ गणना गरिएको थियो। सन् २०१० को अन्तर्राष्ट्रिय लक्ष्यअनुसार २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने उद्देश्य नेपालले सफलतापूर्वक पूरा गरेको थियो।
नेपालमा बाघ तराईका पाँच राष्ट्रिय निकुञ्ज—चितवन, पर्सा, बर्दिया, बाँके र शुक्लाफाँटा—सहित आसपासका मध्यवर्ती वन तथा जैविक मार्गमा पाइन्छ।
यसरी गरियो नयाँ बाघ सर्वेक्षण
पछिल्लो बाघ सर्वेक्षण गत पुस १ गतेदेखि सुरु गरिएको थियो। चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी तीन संरक्षण क्षेत्रलाई समेटेर करिब तीन महिनासम्म सर्वेक्षण सञ्चालन गरिएको थियो।
सर्वेक्षणका क्रममा प्रत्येक दुई किलोमिटरको ग्रिडमा स्वचालित क्यामेरा जडान गरी कम्तीमा १५ दिनसम्म बाघका तस्बिर सङ्कलन गरिएको थियो। ती तस्बिरको विश्लेषणका आधारमा बाघको संख्या निर्धारण गरिएको हो।
यस कार्यमा करिब २५० जना जनशक्ति परिचालन गरिएको थियो भने करिब एक हजार १०० वटा ट्र्याप क्यामेरा प्रयोग गरिएको थियो। सर्वेक्षण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा विभिन्न सरकारी निकाय, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न भएको हो।
संख्या बढेसँगै चुनौती पनि बढ्दै
बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन, चोरी सिकारी तथा पूर्वाधार निर्माणका कारण हुने जोखिम पनि बढ्दै गएको छ। मध्यवर्ती क्षेत्रका स्थानीय घाँस, दाउरा र वनजन्य वस्तु सङ्कलन गर्न जाँदा बाघको आक्रमणमा पर्ने घटना समय–समयमा देखिने गरेका छन्।
अध्ययनअनुसार हालको वातावरणीय क्षमताले नेपालमा करिब ४०० वटा बाघ धान्न सक्ने देखिएको छ। त्यसैले भविष्यमा बाघ संरक्षणसँगै व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
समस्याग्रस्त बाघका लागि ‘टाइगर सेन्चुरी’ योजना
हाल देशभर १६ वटा समस्याग्रस्त बाघ विभिन्न इन्क्लोजरमा राखिएका छन्। मानव बस्तीमा प्रवेश गर्ने, मानिस वा घरपालुवा जनावरमाथि आक्रमण गर्ने वा घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर चितवन, बर्दिया, बाँके राष्ट्रिय निकुञ्ज तथा जावलाखेलस्थित सदर चिडियाखानामा राख्ने गरिएको छ।
यी बाघको हेरचाह र व्यवस्थापनमा ठूलो खर्च लाग्ने भएकाले सरकारले चितवनको देवनगरमा करिब ५२ हेक्टर क्षेत्रफलमा ‘टाइगर सेन्चुरी’ निर्माण गर्ने योजना अघि बढाएको छ। मन्त्रालयका अनुसार यस्तो केन्द्र निर्माण भए समस्याग्रस्त बाघले प्राकृतिक वातावरणमा बस्न पाउने र पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।