काठमाडौं । नेकपा एमालेले बल्खुमा अवस्थित पार्टी स्वामित्वको ९ रोपनी जमिनभित्रै कार्यालय निर्माणको काम शुरू गर्ने भएको छ ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले त्यस्तो तयारीबारे गहन छलफल गरेको कार्यालय सदस्य तथा प्रचार प्रमुख नीरज आचार्यले बताए ।
‘साइट क्लियरेन्स, डीपीआर बनाउने, ठेकेदार चयन र स्रोत जुटाउनेबारे ठोस रूपमा छलफल भएको छ, त्यहीअनुसार काम अगाडि बढ्छ’, आचार्यले भने ।
कार्यालय तयार हुनुअघि निर्माणस्थलको पायक पर्ने ठाउँमा केन्द्रीय कार्यालय सार्ने र च्यासलको कार्यालय छाड्ने कुरा पनि भएको उनले बताए ।
पार्टीलाई चलायमान बनाउन पहिला कार्यालय व्यवस्थापन जरुरी हुने भन्दै महासचिव पोखरेलले कार्यालय भवन निर्माणकार्यलाई तत्काल शुरू गर्ने गरी अगाडि बढ्न निर्देशन दिएको आचार्यले बताए ।
कार्यालय बैठकमा नयाँ जिम्मेवार अनुसार कार्यालय व्यवस्थापनका केही प्राविधिक तथा नीतिगत विषयमा पनि छलफल भएको उनले बताए ।
केन्द्रीय कार्यालयलाई सचिवालय बैठकबाट प्राप्त अधिकार बमोजिम दैनन्दिन पार्टी कामका निर्णय गर्दै जाने विषयमा पनि छलफल भएको उनको भनाइ छ ।