काठमाडौं – प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक कक्ष बाहिर लगेका छन् । बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएपछि रास्वपा सांसद तामाङलाई उनकै सांसदले बाहिर लिएर गएका हुन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि रास्वपाकै सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठलगायतले रोकेका थिए । तर आशिका शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका हुन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । तर सभामुख डीपी अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि बैठकमा चर्काचर्कीसमेत चलेको थियो ।