काठमाडौं । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा आज कुनै पनि पूर्वप्रधानमन्त्री देखा परेनन् । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए ।
हरेक वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवसको समारोहमा पुर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रणा गर्ने परिपाटी रहेको छ । समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्छ ।
गणतन्त्र दिवसमा पाहुनाहरू डाक्ने कार्य भने गृहले गर्दै आएको छ । गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेलले हरेक वर्षजस्तै यस वर्ष पनि सबै पूर्वप्रधानमन्त्रीहरुलाई निमन्त्रण गरिएको बताए ।
‘हामीले प्रोटोकलअनुसार सबैलाई निमन्त्रण पठाएका छौं, पूर्वप्रधानमन्त्रीहरू
पनि कसैलाई छुटाइएको छैन,’ उनले भने, ‘तर आज पूर्वप्रधानमन्त्रीज्यूहरुको उपस्थिति रहेन ।’
अघिल्ला वर्षहरुमा गणतन्त्र दिवसको समारोहमा नियमित उपस्थित हुने गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत यस वर्ष आएनन् । पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहेन । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने विदेशमा छन् । पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पनि समारोहमा देखिएनन् ।
पूर्वप्रधानमन्त्री ओलीको सचिवालयले गणतन्त्र दिवसको समारोहमा सरकारबाट निमन्त्रण नआएको दावी गरेको छ । ओलीकी सचिवालय प्रमुख निरुदेवी पालले कुनै पत्र वा खबर नआएको बताइन् ।
स्वास्थ्यका कारण चिकित्सकहरुले घरबाहिर निस्कन बन्देज लगाएपछि ओलीले भेटघाट कम गर्नुका साथ जरुरी बैठक र छलफल पनि घरमै गर्ने गरेका छन् । यदि सरकारले बोलाएकै थियो भने पनि उनी जानसक्ने थिएनन् ।
पालले भनिन्, ‘औपचारिक निमन्त्रणा आएन, उहाँलाई नै कसैले फोन गरेको भए अर्कै कुरा ।’
प्रचण्डलाई भने ‘पूर्वप्रधानमन्त्री’ को हैसियतमा नभएर सांसदको हैसियतमा निम्ता गएको बुझिएको छ ।
प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘हरेक वर्ष पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रण आउने गरेको थियो । यस वर्ष आएन । पछि बुझ्दा प्रतिनिधिसभा सदस्यको रुपमा सम्वोधन गरेर एउटा निमन्त्रण पिजनहोलमा छोडिएको रहेछ ।’
प्रचण्डलाई सामान्य रुघाखोकी लागे पनि उनी समारोहमा जानै नसक्ने अवस्थामा भने थिएनन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो नआएपछि उनले नजाने निर्णय गरेका हुन् ।