काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।
गणतन्त्र दिवस-२०८३ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्- ‘नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२–६३ को सफलता पश्चात् नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो । तत्पश्चात् वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । नेपालको संविधानको संरक्षण तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ ।’
नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएपछि गणतन्त्र स्थापना भएको स्मरण गर्दै थापाले शासन व्यवस्थाको संस्थागत सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
उनले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा यात्रामा गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।