काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सर्वपक्षीय गोलमेल सम्मेलनको आयोजना गर्न सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद केसीले संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गरेर उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेल सम्मेलन गर्न माग गरेका हुन् ।
आयोगमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गर्नुपर्ने उनको भनाइ छ । उनले राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल नहुने धारणा राखे ।
वृहत राष्ट्रिय संवादबाट मात्र संविधान संशोधनले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमतिका साथै दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सक्ने उल्लेख गरे ।