काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन आवश्यक सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन् ।
महोत्तरीको बर्दिबास मा बुधबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थापाले पार्टीभित्रका साथीहरूको भावना सम्बोधन गर्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास जारी रहने बताए ।
यस क्रममा उनले संस्थापनइतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध नगर्न आग्रह गरे । पार्टी सुदृढीकरणका लागि सदस्यता व्यवस्थापन महत्वपूर्ण भएकाले यसलाई विवादको विषय नबनाउन उनको भनाइ थियो ।
क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर भइरहेको विरोधप्रति आफू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि सदस्यले आवश्यकता अनुसार सदस्यता नवीकरण गर्न पाउनुपर्ने धारणा राखे ।
नेपाली काँग्रेस भित्रको अनुशासन र संगठनात्मक प्रतिबद्धताबारे बोल्दै थापाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने वा समर्थन नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे । उनका अनुसार आम मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्न पाउने भए पनि पार्टीका क्रियाशील सदस्य र नेताहरूले संगठनात्मक निर्णय पालना गर्नुपर्ने हुन्छ ।
गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि सदस्यताबाट अलग राख्ने नीति दोहोर्याउँदै उनले त्यसलाई संगठनात्मक अनुशासनको विषयका रूपमा व्याख्या गरे ।