काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले संसद्मा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिने टिप्पणी गरेका हुन् ।
सांसद साम्पाङले प्रधानमन्त्री शाहमाथि संसदीय अभ्यासको इतिहासमा ‘कालो धब्बा’ लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन्।
उनले भनेका छन्, ‘यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ । जनताको सार्बभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ? आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने लुकेर बस्ने के प्रवृत्ति हो यो ? यसले कस्तो नजिर बसाउँछ ?’
साम्पाङले प्रधानमन्त्रीलाई ‘असक्षम र असफल’को संज्ञा दिँदै प्रश्न गरेका छन्, ‘आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ?’ उनले न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ ।