काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी लामो समयदेखि स्थापित अभ्यासमा परिवर्तन नगर्न संवैधानिक परिषद्लाई आग्रह गरेका छन् ।
प्रधान न्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने तयारी भइरहेका बेला उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झन्डै चार दशकदेखि कायम परम्परालाई यथावत् राख्नुपर्ने बताएका हुन् ।
उनका अनुसार परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बस्ने बैठकबाट सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
खड्काले लामो समयदेखि अभ्यासमा रहेको नियुक्ति प्रक्रिया परिवर्तन गरिएमा न्यायिक प्रणालीमा अस्थिरता उत्पन्न हुन सक्ने चेतावनी दिएका छन् । न्यायालयभित्र अनिश्चितता र असुरक्षाको अवस्था सिर्जना भएमा त्यसले लोकतान्त्रिक प्रणालीमै गम्भीर प्रभाव पार्न सक्ने उनको भनाइ छ ।
उनले संवैधानिक परिषद्को नेतृत्व गर्ने प्रधानमन्त्रीलाई विशेष रूपमा ध्यान दिन आग्रह गर्दै न्यायिक स्थायित्व र संस्थागत परम्पराको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।