काठमाडौँ। नेपाली काँग्रेसनिकट नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्।
गुरुङले पार्टी संगठन सुदृढीकरणका लागि सहज वातावरण निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आफूले अध्यक्ष पद छाड्ने निर्णय लिएको जानकारी दिएका छन्।
उनका अनुसार आगामी दिनमा स्पष्ट राजनीतिक दृष्टिकोण र ठोस कार्ययोजनासहित पार्टीप्रति पूर्ण समर्पित भएर काम गर्ने तयारी रहेको छ।
राजीनामा घोषणा गर्दै उनले आफूलाई नेतृत्वको जिम्मेवारी प्रदान गरेकोप्रति पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिप्रति आभार व्यक्त गरेका छन्।
गुरुङले संगठनको निर्धारित कार्यतालिका अनुसार २०८३ मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि पछिल्ला राजनीतिक घटनाक्रम र उत्पन्न असहज परिस्थितिका कारण पाँचौँ महाधिवेशन समयमै सम्पन्न गर्न नसकिएको जानकारी पनि दिएका छन्।
तरुण दलभित्रको आगामी नेतृत्व प्रक्रिया र महाधिवेशन तयारीसँगै संगठन पुनर्संरचनाको विषयमा समेत ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।