काठमाडौँ। पूर्वमन्त्री सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सबै प्रकारको औपचारिक आबद्धता समाप्त भएको घोषणा गरेका छन्। यससँगै उनले पार्टीको साधारण सदस्यता समेत नरहने स्पष्ट निर्णय सार्वजनिक गरेका छन्।
यसअघि उनी पार्टीको अध्यक्ष परिषद् सदस्य पदबाट राजीनामा दिइसकेका थिए। करिब पाँच महिनाको राजनीतिक संलग्नतापछि पार्टीसँगको यात्रालाई औपचारिक रूपमा अन्त्य गर्ने निष्कर्षमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
किरातीले उक्त अवधिमा सहकार्य गर्ने नेतृत्व तहका व्यक्तिहरू तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै उक्त अनुभवलाई आफ्नो राजनीतिक जीवनका लागि महत्त्वपूर्ण सिकाइका रूपमा लिएको उल्लेख गरेका छन्।
पार्टीगत संरचनाबाट बाहिरिए पनि आपसी सम्मान र सौहार्दपूर्ण सम्बन्ध भने कायम रहने उनको भनाइ छ। साथै, जनताको अपेक्षा र सहिदहरूको योगदानबाट प्रेरित लक्ष्यप्रति आफ्नो प्रतिबद्धता यथावत् रहने उनले स्पष्ट पारेका छन्।
आफ्नो आगामी राजनीतिक तथा सामाजिक यात्रालाई सहज नहुन सक्ने स्वीकार गर्दै उनले जनविश्वास र सहिदहरूको बलिदानले देखाएको दिशामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।