काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक बस्ने भएको छ ।
बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने छन्। त्यसपछि प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिलकुमारी बुढाले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
विपक्षी दलका नेता जोख बहादुर महराले विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।