काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले युवा पुस्ताले परम्परागत रूपमा रोजगारी खोज्ने प्रवृत्तिबाट अघि बढ्दै उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने दिशामा उन्मुख हुनुपर्ने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यार्थीहरूले आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सके मुलुकको समृद्धि यात्रामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे ।
उनले युवालाई आत्मनिर्भर र सिर्जनशील बन्न आग्रह गर्दै देश निर्माणमा सक्रिय भूमिका खेल्न प्रेरित गरेका थिए ।
विश्वविद्यालयले स्थापना भएको झन्डै तीन दशकमा देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको सराहना गर्दै उनले वर्तमान सरकारले शिक्षालाई गुणस्तरीय, व्यवहारमुखी र अनुसन्धान केन्द्रित बनाउने दिशामा पहल गरिरहेको जानकारी दिए ।
उक्त समारोहमा विभिन्न संकायका कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका थिए । साथै, शैक्षिक उत्कृष्टता हासिल गरेका २१ जना विद्यार्थीलाई स्वर्ण पदकसहित सम्मान गरिएको कार्यक्रम आयोजकले जनाएको छ ।