नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा शुक्रबार पनि बसेको छ।बैठकमा सरकारमा सामेल मन्त्रीहरूका कार्यसम्पादनका समीक्षा भएको छ। केन्द्रीय सदस्यहरूले पनि धारणा राखेका छन्।
केन्द्रीय सदस्यहरूलाई धारणा राख्न सभापति शेरबहादुर देउवाले पाँच मिनेट समय दिएका छन्।
केन्द्रीय सदस्यहरूले एजेन्डामा नभएका राष्ट्रिय सभा चुनावजस्ता केही विषय उठाएका छन्।
शिवाकोटीले नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता रहेको बताएका छन्।
‘नयाँ पुस्तालाई कसरी संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीले सबैभन्दा बढी वहकाइ रहेको छ? हो यहि कुराको उत्तर खोज्ने प्रयास यो वैठकमा हुनुपर्छ,’ उनले भने, ‘फगत सूचना प्रविधिको प्रयोग गरेर कांग्रेसलाई रक्षात्मक बनाइयो भन्ने कुराको अर्थ रहन्न।’
पार्टीका गतिविधी, आचरण र व्यवहारले विवेकी पुस्ता हामीबाट टाढा भइरहेको उनले बताए।
‘पार्टीमा नयाँ पुस्ताको प्रवेश न्यून किन छ? किन हाम्रा कार्यक्रममा युवाहरुको संख्या घट्दो छ समीक्षा गर्न पर्दैन?,’ उनले भने। विवेकसँगै विद्रोही चेत भएको र तीक्ष्ण बुद्धिको नयाँ पुस्ता प्राथमिकतामा हो भने समुदायमा कांग्रेस जस्तै नयाँ पुस्तासँग कांग्रेस अभियान पनि तत्काल ल्याइयोस्।’उनले १४ औं महाधिवेशनपछि पार्टीका कामकारबाहीको पनि समीक्षा हुनुपर्ने बताए।
‘
चार वर्षे कार्यकालको आधा समय व्यतित गर्दा विधान कार्यान्वयनमा यो कार्यसमिति चुक्दै आएको छ। पार्टीको साउनमा सम्पन्न वैठकले तय गरेको कार्यतालिकाअनुसार विधान कार्यान्वयनमा मूल नेतृत्वले गर्नुपर्ने कामको स्मरण गराउँदै समयमसीमा समेत तोकेको थियो। तर निर्णयको पूर्ण कार्यान्वयनमा उदासिनता आज पनि उस्तै छ,’ उनले भने।
काम गर्ने हुटहुटी भएका केन्द्रीय सदस्य कामबिहीन रहेको उनले बताए।
‘केही विभागीय प्रमुख विभाग बिस्तारका लागि सभापतिको मुख ताकेर बसेका छन्। दोहोरो जिम्मेवारीमा नभएका साथीलाई पार्टी काममा लगाउँदा त्यसले पार्टीलाई नै फाइदा पुग्छ होला भन्ने कुरामा चाँडो ध्यान जानुपर्छ,’ उनले भने।
उनले कोषाध्यक्ष नियुक्तिमा ढिलाइ भइरहेको पनि बताए।उनले सरकारका कामकारबाही पनि समीक्षा हुनुपर्ने बताएका छन्। ‘एक वर्षे कार्यकाल प्रधानमन्त्रीले पूरा गरेका छन्। हाम्रा मन्त्रीहरुले पनि केही समयमा पूरा गर्नु होला।
प्रधानमन्त्रीले अपेक्षाअनुसार काम गर्न नसकेको र अब क्रम भंग हुने पुरानै कथन दोहोर्याउनुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले अपेक्षाअनुसारको काम हुन नसकेको भन्नुको मतलब सरकारको मुख्य हिस्सेदार दल कांग्रेसका मन्त्रीहरुले समेत काम गर्ने नसकेको आरोप पनि हो।’राष्ट्रिय सभाको लागि मापदण्ड बनाउन पनि उनले माग गरेका छन्।
‘सबैको चासो र जोड राष्ट्रिय सभाको उम्मेदवार र उम्मेदवारका लागि मापदण्ड बनाउनु पर्छ भन्नेमा छ। के यस्तो मापदण्ड बनाउँदा केन्द्रीय कार्यालय परिसरमा भेट भएका द्वन्दमा दुवै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीजस्ता द्वन्दपीडित र अपाङ्गता भएका साथीले मैले पनि न्याय पाए भन्ने गरी बन्छ कि यहाँ भित्र बैठकमा भएकाहरुको लागि मिल्ने गरी मात्र बनाइन्छ?,’ उनले प्रश्न गरे।