काठमाडौँ । नेपाली काँग्रेस अन्तर महानगर समितिको बैठक बसेको छ। काँग्रेस ललितपुर महानगर कार्यसमिति सभापति सुभानन धाख्वाको सभापतित्वमा आज बैठक बसेको हो।
बैठकले बदलिँदो परिस्थिति, जेनजी आन्दोलन र आम नेपालीहरूको जनचाहाना अनुरूप देशभित्र व्याप्त भ्रष्टाचारको निर्ममतापूर्वक छानबिन र दोषी उपर कारबाहीको माग तथा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिबाट सो उपर तत्काल निर्णय गर्न माग गरेको छ।
आम जनमानस एवम् पार्टी कार्यकर्ताहरूमा नेतृत्वप्रति देखिएको वितृष्णा तथा विशेष महाधिवेशनको मागलाई समेत सम्बोधन गर्ने गरी तत्काल कार्य तालिकासहितको नियमित महाधिवेशन कार्यतालिका ल्याउन माग गरेको छ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न गर्न सम्भव बनाउनको लागि देशका हामी ६ वटा महानगरपालिका कार्यसमितिले पालिकाहरूसँग समन्वय गरी नियमित महाधिवेशन गर्न सहयोग र समन्वय गर्न हामी तत्पर छौँ ।’