
काठमाडौँ- एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् ।प्रतिनिधि सभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए ।
विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले राष्ट्रिय सभा सदस्यहरूलाई वितरण नगरिएकोमा उनले आपत्ति जनाएका हुन् ।
‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको संघीय निजामती सेवासम्बन्धी विधेयक १८ असारमा यो सदनमा प्रस्तुत भएको थियो ।
तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन, ‘भुसालले भने, ’यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रूपमा विवाद उठेको छ । यो अवस्थामा हामीलाई प्रतिनिधिसभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन ? यसले अर्को आशंका जन्माएको छ । विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शंका छ ।’
निजामती सेवाका र सरकारी कर्मचारीलाई अवकाश वा राजीनामापछि कुनै पनि संवैधानिक, सरकारी र कूटनीतिक लगायतका नियुक्ति २ वर्षसम्म लिन नमिल्ने व्यवस्था राज्यव्यवस्था समितिले गरेको थियो । सर्वसम्मतिले राखेको उक्त व्यवस्था निष्प्रभावी पार्ने गरी अर्को व्यवस्था कायमै राखिएकोमा विवाद भइरहेको छ ।