
काठमाडौँ। लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको १६ औँ बैठक आज बस्दैछ । बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ ।
बैठक आज दिउँसो १२ बजे बस्नेछ । बैठकमा ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को विभिन्न मन्त्रालय एवं सो सँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहकृत छलफल हुनेछ ।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ ।
मंगलबार बसेको प्रदेश सभाको १५ औँ बैठकले ‘आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुङ्गिएको सभामा जानकारी गराएका थिए ।
१४ औँ बैठक प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले बहिस्कार गरेका थिए । तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछि सदन अघि बढेको थियो । जुन बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको थियो । बजेट माथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्चाउन माग राखेको छ ।
लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ। उक्त बजेटमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार, चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार, र स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार विनियोजन गरिएको छ।
बजेटले आन्तरिक स्रोतबाट ७ अर्ब ७८ करोड ४ लाख राजस्व संकलन गर्ने र चालु आवको बचत २ अर्ब परिचालन गर्ने लक्ष्य लिएको छ।