- गोपाल ढकाल, मनोविद्
दसैँ पर्वको धार्मिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्यका हिसाबले समेत ठुलो महत्त्व रहेको छ । यस चाडले राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न समेत मद्दत गरिरहेको हुन्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार मानिस पूर्ण रूपमा स्वास्थ्य रहनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा स्वास्थ्य हुनुपर्दछ । दसैँ पर्वले मानिसलाई यी चारै किसिमबाट स्वास्थ्य हुनमा मद्दत पुराइरहेको हुन्छ ।
दसैँमा प्रायः सबैले मीठो मसिनो र पोसिलो खानेकुरा खाने गर्दछन् यसले हामीलाई शारीरिक रूपमा स्वास्थ्य हुन मद्दत पुर्याउँछ । दसैँमा पिङ खेल्ने र चङ्गा उडाउने गरिन्छ । यसले मनोरञ्जनका साथै शारीरिक व्यायाम समेत भइरहेको हुन्छ । मनोरञ्जन तथा शारीरिक व्यायाम मानसिक स्वास्थ्यका लागि अति आवश्यक हुन्छ।
दसैँमा दैनिक कामको चपेटाबाट मुक्त भएर हामीलाई आराम गर्ने अवसर मिल्छ । मानसिक तनावलाई कम हुन्छ । दशैको रमझमले हामीमा उत्साह , उमङ्ग , प्रफुल्लता , खुसीयाली लिएर आउँछ । यस अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाटले आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता बढाइ सम्बन्धलाई प्रगाढ बनाउन मद्दत गर्छ । एक्लोपन र नैरश्यतालाई हटाउँछ । यसले मानिसलाई मनोसामाजिक रूपमा स्वास्थ्य बनाउँछ ।
दशैको बेला घरबाट टाढा भएका आफन्तहरू पनि एकै ठाउँमा भेला हुने भएकाले यसले मेलमिलापको वातावरण बन्छ । सम्बन्धलाई थप आत्मीय बनाउँछ । आपसी तिक्तता हटाउँछ । मानसिक स्वास्थ्यका लागि आपसी सम्बन्ध सुमधुर हुनु जरुरी हुन्छ । सुखदुख साटासाट गर्ने, एकले अर्काको कुरा सुन्नाले आट र भरोसा बढ्छ ।
परिवारका सदस्यबिच आदर, सम्मान, माया, प्रेम नहुँदा जीवन निरस हुन पुग्छ । आपसी कलह, असमझदारी, झगडा, द्वेष, बदला वा रिसले मानसिक रोग एवं मनोसामाजिक समस्याहरू देखा पर्दछ । नातिनातिना हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दसैँले बढ्दै गएको जेनेरेसन ग्यापलाई समेत कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ ।
किंवदन्ती अनुसार पनि विजया दसैँ असत्य माथि सत्यको जितको उत्सवका रूपमा मनाइन्छ। विजयको उत्सवले आत्मबल, आत्मविश्वास, जोस जाँगर, हौसला बढाउने तथा नैरश्यतालाई हटाउने गर्छ ।
दसैँमा टीका लगाएर दिइने आर्सीवाद र शुभकामनाको आदान-प्रदानले व्यक्तिमा आत्मबल, आत्मविश्वास, जोस जाँगर, ऊर्जा , हौसला बढाउने र नैरश्यतालाई हटाउने काम गर्छ। निराश मनमा आत्मबल , सकारात्मक सोचको सञ्चार हुन थाल्छ। थप ऊर्जा र उत्प्रेरणा प्राप्त हुन्छ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्दछ । सकारात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रवर्द्धन गर्न मद्दत गर्दछ ।
पछिल्लो समयमा धेरै व्यक्तिहरू डिप्रेसन जस्तो मानसिक रोगको सिकार हुँदै गएका छन् । मानिसमा एक्लोपन र निराशाले गाँज्दै गएको छ। यस्तो अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको सञ्चार हुनु अति आवश्यक छ । दसैँ जस्तो पर्वले मानसिक स्वास्थ्यका लागि साईको थेरापीकै काम गरिरहेको हुन्छ ।
दसैँको बेला विभिन्न शक्ति पीठहरूमा गरिने पूजापाठ तथा साधनाले व्यक्तिलाई अनुशासित,मर्यादित, नैतिकवान्, चरित्रवान् बन्न प्रेरित गर्छ । व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आ-आफ्नो आस्था र विश्वास अनुसार पूजापाठ वा प्रार्थना गर्नाले मनमा शान्ति मिल्नुका साथै मनोसामाजिक समस्याहरू कम गर्न मद्दत मिल्छ । यसले व्यक्तिमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पर्छ ।
दसैँमा आफ्ना कमीकमजोरीहरू, आफ्ना खराब आचरण, कुलत र दुर्बल पक्षहरू, पासाविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोह, ईर्ष्याजस्ता विकार छोड्ने सङ्कल्प गरिन्छ । साधनाको माध्यमबाट यी कुराको बली दिने, सधैँ सही मार्गमा हिँड्ने, गलत कार्यको प्रायश्चित गर्ने गरिन्छ । वास्तवमा मानिसको दुखको कारण नै काम, क्रोध, लोभ, मोह, ईर्ष्या जस्ता विकार हुन ।
दसैँमा शक्ति पीठहरूमा दुर्गा भवानीको पूजा हुन्छ । दुर्गा माता अर्थात् स्त्रीलाई शक्तिको प्रतीकको रूपमा लिँदा हाम्रो जस्तो पुरुष प्रधान समाजमा महिलाको आत्मसम्मान र आत्मबल बढाउन मद्दत गर्छ ।
दसैँमा लगाइने रातो रङ्ग मिश्रित चामलको टिका र जमराले मानिसमा सकारात्मक प्रभाव पार्छ । मानिसमा ऊर्जा, जोस-जाँगर, उत्साह, साहस बढाउँछ । रातो रङ्ग शक्ति, उत्साह, सौभाग्य र विजयको प्रतीक मानिन्छ ।
दसैँ जस्तो महत्त्वपूर्ण चाडपर्वलाई कुनै जात, जाति र धर्म सम्प्रदायसँग नजोडी एउटा परम्परा र संस्कृतिका रूपमा विकसित गर्नु पर्दछ। आफूलाई उत्साहित गर्ने आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने, खुसीयाली साटासाट गर्ने अवसरको रूपमा लिनु पर्दछ ।
लेखक मनोविद् हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रका संस्थापक समेत हुन् ।