काठमाडौँ । सरकारले विभिन्न स्वास्थ्य संस्थामा रिक्त रहेको नेतृत्व व्यवस्थापनका लागि अस्थायी रूपमा निमित्त निर्देशक तोकेको छ ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ कार्यान्वयनपछि खाली भएका पदमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिम्मेवारी बाँडफाँट गरेको हो ।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवा र प्रशासनिक कामकाज नियमित राख्ने उद्देश्यले स्वास्थ्य विज्ञान प्रतिष्ठान, विशिष्टीकृत अस्पताल तथा स्वास्थ्य बिमा बोर्डमा निमित्त नेतृत्व नियुक्त गरिएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त निर्देशकमा प्रा. डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङ तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्रा. डा. विनम्र विष्टलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को निमित्त निर्देशकमा सहप्रा. डा. इन्द्र लिम्बू र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सह प्रा. डा. सुरेश रसाइली नियुक्त भएका छन् ।
भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को निमित्त निर्देशकमा डा. उमेश नेपाल तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा सहप्रा. डा. रविन्द्र भक्त तिमलालाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, स्वास्थ्य बिमा बोर्ड को निमित्त कार्यकारी निर्देशकमा शकुन्तला प्रजापति नियुक्त भएकी छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले संस्थाहरूको नियमित सेवा प्रभावित हुन नदिन अस्थायी नेतृत्व व्यवस्था गरिएको बताएकी छन् । उनका अनुसार स्थायी नेतृत्व छनोटका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्ति प्रक्रिया चाँडै अघि बढाइनेछ ।