झापा । आकाशे वर्षाको भरमा सिँचाइमा निर्भर स्थानीय किसान अब विद्युत्बाट चल्ने भूमिगत सिँचाइ आयोजना गाउँमा आएपछि उत्साही भएका छन् ।
कचनकबल गाउँपालिका-१ सोमबारेकी भागिरथा अधिकारीले आफ्नो वडामा नै आठवटा जल उपभोक्ता समिति गठन भइसकेको बताइन्। कचनकबलमा धान, मकै र तोरी गरी नियमित तीन बाली खेती हुने गरेको छ ।
बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले व्यावसायिक तरकारी खेती गर्ने तयारी गरिरहेका समेत उनले जानकारी दिइन्। “निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फ जाने सोचाइमा छन् यहाँका किसान,” अधिकारीले भनिन्, “सरकारले ल्याएको भूमिगत सिँचाइ परियोजनाले जीवनस्तर उकास्ने आशा गरेका छौं ।”
उनी सोही वडाको सोमबारे जल उपभोक्ता समितिको अध्यक्ष छिन्। अधिकारीको क्षेत्रमा परियोजनाले डिप बोरिङ, ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको कार्य गरेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।