फुङ्लिङ । लामो समयसम्म वर्षा नहुँदा सास्ती खेप्दै आएका ताप्लेजुङका किसान अहिले भने उत्साहित भएका छन् ।
प्राय: प्रत्येक साँझ-बिहान वर्षा भएसँगै अन्नबाली फष्टाउन सहयोग पुग्ने भएपछि किसान उत्साहित भएका हुन् । फक्ताङलुङ गाउँपालिका-६ का सन्तकुमार लिम्बू अहिले अलैँची बगानमा सिँचाइ गर्न नपरेकाले बिहीवार सदरमुकाम फुङ्लिङ बजारमा आइपुगे।
कात्तिकको तेस्रो सातादेखि उनी प्राय: अलैँची बगनामै बिहानदेखि बेलुकासम्म अलैँची बगानमै व्यस्त हुने गरे पनि गत सातादेखि दैनिकजसो साँझ-बिहान वर्षा भएसँगै उनलाई फुर्सद मिलेकाले अहिले सदरमुकाम आएका हुन्।
सोही गाउँका बसन्त फेम्बू पनि अहिले फुर्सदिलो भएका छन् । नियमित वर्षा हुन थालेसँगै पानी पटाउन नपरेकाले आफूलाई पनि फुर्सद मिलेको उनले बताए ।
पहाडी क्षेत्रका किसान अहिले अन्न छर्न व्यस्त छन् ।
विशेष गरेर फागुन तेस्रो सातादेखि वैशाखसम्म मकै रोप्ने गरिन्छ। पहाडी क्षेत्रको मुख्य बाली मकै हो । मकै रोप्ने समय साँझ बिहान वर्षा हुन थालेसँगै यहाँका किसानमा ठूलो राहत मिलेको सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खेका रणबहादुर लिम्बूले बताए।
उनले भने, “मकै रोप्ने समयमा वर्षा हुनथालेको छ । यसवर्ष राम्रो अन्न उत्पादन होलाजस्तो छ ।” लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्दै गएपछि चिन्तित भएका मेरिङदेन गाउँपाकिाका-६की विमना लिम्बू पनि वर्षा भएकाले अहिले भने उत्साहित भएकी छन्।
लामो समयसम्म सुख्खा मौसम रहेसँगै पछिलो समयमा वर्षा हुन सुरु भएकाले यहाँका किसान भने खुशी भएका छन् । हिउँदेबालीमा सिँचाइ पुगेकाले अन्न उत्पादनमा कमी नहुने फक्ताङलुङ गाउँपालिका-६ विर्ख लिम्बूको भनाइ थियो ।
लामो समयसम्म वर्षा नहुँदा हिउँदेबाली लगाउन किसान निकै चिन्तित भएकामा अलिक ढिलो भए पनि वर्षा भएकाले चिन्ता उत्साहामा रुपान्तरण भएको किसान उनले बताए। लामो समयसम्म हिमपात र वर्षा नहुँदा पशुचौपायको आहारामा समेत समस्या हुँदै आएको थियो ।
सुख्खा समयमा घाँसपात सबै सुकेर गएसँगै पशुपालकहरुलाई सास्ती खेप्नु परेको थियो । विगतका वर्षहरुमा समयमै हिमपात र वर्षा भएकामा यस वर्ष भने हिमाली क्षेत्रमा खासै हिमपात र वर्षा पनि भएन ।
हिमपात र वर्षा नहुँदा चौँरी-याक पालकलाई निकै चिन्ता भएको याक पालक फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँका ढावा शेर्पाले बताए। उनले भने “हिमपात र वर्षा नहुँदा याकका लागि चरनसमेत अभाव हुँदै गएको थियो । पानीका मूलसमेत सुक्ने हो की भन्ने चिन्ता लागेको थियो तर, अगाडिको जस्तो हिउँ यसपाली परेन ।”
वर्षा हुन थालेसँगै हरियो घाँसपात उम्रने भएकाले पशुपालक पनि उत्साहित भएका हुन् । पछिल्लो समय वर्षा हुन थालेसँगै धूलाम्मे बाटोमा यात्रा गर्ने यात्रुहरुलाई सास्तीखेप्नु नपरेको गाडी चालक ज्ञानेन्द्र केदेमले बताए।