रामपुर (पाल्पा) । कृषि उत्पादनलाई बढावा दिन पाल्पामा कृषिमेला आयोजना गरिने भएको छ ।
तानसेन नगरपालिका-९ को तिन्टीआँपमा आगामी चैत ३ गते हुने कृषिमेला, २०७९ सञ्चालनको तयारी भइरहेको हो ।
मेलामा प्रतियोगितात्मक कृषि प्रदर्शनी, रैथाने बाली प्रदर्शनी, प्रतियोगितात्मक बाख्रा, कुखुरा प्रदर्शनी, कृषियन्त्र, बीउबिजन, नर्सरी बिरुवा बिक्री-वितरण, पशुरोग निदान तथा गोबर परीक्षण, कृषि संवाद कार्यक्रम, कृषि परिकार स्टल, प्लान्ट क्लिनिक, जैविक मल उत्पादन तथा माटो परीक्षण गरिने तानसेन-९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिए।
कृषि उत्पादन बढाउन, कृषकलाई व्यावसायिक बनाउन प्रोत्साहन गर्न लागिएको यस मेलाले कृषकमा उत्साह थपिएको छ । ‘कृषि कर्ममा सहभागी बनौं, परनिर्भरताको अन्त्य गरौं’ भन्ने नारासहित कृषि सेवा केन्द्र दमकडा, मदनपोखरा सङ्गम सहकारी, कृषिमेला उपभोक्ता समिति तानसेन-९ को आयोजनामा मेला हुँदैछ ।
कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पाल्पाको सहयोगमा मेला गर्न लागिएको हो ।