सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक समूहलाई रु १० लाख ७० हजार मूल्य बराबरका विभिन्न कृषि सामग्री हस्तान्तरण गरिएको छ ।
नगरपालिकाको वडा नं. ११ शुक्रबारेमा सूर्य तरकारी पकेट समितिको सहकार्यमा कृषक समूह तथा नगरपालिकाको साझेदारी रकममा आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । कृषकलाई मिनी पावर टिलर, मोटर, पावर स्प्रे, कपडाको पाइप, विभिन्न किसिमका तरकारीका बीउलगायत सामान जनप्रतिनिधि तथा कर्मचारीको सहभागितामा वितरण गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले जानकारी दिए ।
उनले व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका कृषकको सहयोगका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको उल्लेख गरे । नगरपालिकाको रु पाँच लाख ४० हजार तथा किसानको रु पाँच लाख ३० हजार साझेदारीमा सामग्री किनेर वितरण गरिएको सुन्दरहरैँचा नपाका कृषि शाखा प्रमुख सुदीप भण्डारीले जानकारी दिए ।
तरकारी पकेटको सार्वजनिक सुनुवाइ अनुगमन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रमबाट आफू प्रभावित भएर स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न सफल भएको स्थानीय कृषक मोहनलाल श्रेष्ठले बताए। तरकारी पकेट समितिमा हाल ३० किसान आबद्ध छन् । उनीहरूले २५ हेक्टर जमिनमा तरकारी खेती गरिरहेका छन् ।